२०८१, १३ बैशाख बिहीबार

अदालतले छोड्यो, सीआईबीले समात्यो

    माघ ९ २०७४ १९:५३

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं । जिल्ला अदालत काठमाडौंले आईतबार ८ लाख धरौटीमा छाड्न आदेश दिइएका कोठी सञ्चालक दुप्चेश्वर–१ का वडाअध्यक्ष सुनबहादुर तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआर्ईबी)ले जेल पठाएको छ ।

सीआईबीले ६ वर्षअघिको फरार अभियुक्त रहेको अभियोगमा तामाङलाई जेल पठाएको हो । पुनरावेदन अदालत पाटनको ०६९ का आदेशका आधारमा तामाङलाई जेल पठाएको सीआईबीका प्रहरी उपरीक्षक (एसपी) जीवन श्रेष्ठले बताए । उनी फरार सूचीमा पनि थिए ।

नेपाली चेलीलाई भारत पु¥याएर बेचबिखन गरेको तथा आफ्नै वेश्यालयमा उनीहरूलाई काममा लगाएको आरोपमा तामाङलाई प्रहरी केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरी मुद्दा दायर गरेको थियो ।

सीआईबीले उनीविरूद्ध जाहेरवालाको सहयोगमा ३० पुसमा जिल्ला अदालत काठमाडौंमा १५ वर्ष कैद सजाय माग गर्दै मुद्दा दायर गरेको थियो । आइतबार भने तामाङलाई काठमाडौं जिल्ला अदालतले ८ लाख धरौटीमा छोड्ने आदेश दिएको हो ।

उनीविरूद्ध दुईवटा मुद्दा दायर भएकोमा एउटामा ५ र अर्को मुद्दामा ३ लाख धरौटीमा छाड्ने आदेश दिएको काठमाडौं जिल्ला अदालतका शाखा अधिकृत टिका सिंहले बताए ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश कविप्रसाद न्यौपानेको एकल इजलासले तामाङलाई धरौटीमा छोड्ने आदेश दिएको हो । न्यायधिश न्यौपाने स्थानीय निर्वाचनको समयमा चितवनका मुख्य निर्वाचन अधिकृत थिए । भरतपुरमा मतगणना चलिरहेको बेलामा मतपत्र च्यातिएपछि उनले सञ्चार माध्यमलाई दिएको अभिव्यक्तिका कारण उनी लामो समयसम्म विवादमा आए ।

न्यौपानेले आफ्नै अगाडि माओवादी प्रतिनिधिहरूले बाँदरले जस्तै उफ्रिएर मतपत्र च्यातेको अभिव्यक्ति दिएका थिए । तामाङसहित ६ जनाविरूद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । तामाङलाई धरौटीमा छोड्ने आदेश दिइएको भए पनि बाँकी अभियुक्तहरू अहिलेसम्म फरार रहेको काठमाडौं जिल्ला अदालतका शाखा अधिकृत सिंहले बताए ।

यसरी पठाइयो जेल

०५१ सालमा नुवाकोट जिल्ला अदालतले उनलाई ६ वर्ष कैद तोकेको थियो । तर उनी अहिलेसम्म फरार थिए । फरार रहेकै अवस्थामा आफ्नो धन्दा गर्दै आएको प्रहरीले जनाएको छ ।

‘अहिले उनलाई धरौटीमा छाड्ने आदेश दिएको छ,’ सिआईबीका डिआईजी पुष्कर कार्कीले भने, ‘अब हामी अदालतको निर्णयको कुनै पनि टिकाटिप्पणी गर्दैनौं ।’ तर उनका सन्दर्भमा फैसला कार्यान्वयनको विषय बाँकी रहेको कार्कीले बताए ।

२०६९ सालमा पुनरावेदन अदालत पाटनले समेत जिल्ला अदालत नुवाकोटको मुद्दालाई सदर गरेको थियो । ‘हामीले उनलाई सोमबार मात्रै कारागार चलान गरेका छौं,’ सिआईबीका प्रवक्ता एसपी श्रेष्ठले भने, ‘अब कति समय थुन्ने भन्ने कुरा कारागारको विषय हो ।’

पछिल्ला मुद्दामा काठमाडौं अदालतले धरौटीमा छोड्ने आदेश दिएको भए पनि उनी अघिल्लो आदेशका आधारमा जेल चलान भएका छन् । प्रहरीले अदालतले तोकेको कैद भुक्तान नगरेका व्यक्तिहरू खोज्ने क्रममा उनीमाथि अनुसन्धान अघि बढेको थियो ।

को हुन् तामाङ ?

तामाङ नेपाली कांग्रेसबाट नुवाकोट दुप्चेश्वर गाउँपालिका–१ मा वडाअध्यक्षमा निर्वाचित भएका थिए । उनलाई सिआईबीले २ सयभन्दा बढी चेलीलाई भारतमा लगेर बेचेको अरोपमा पक्राउ गरेको थियो ।

तामाङले गाउँकै एकजना महिलासँग मिलेर चेलीबेटी बेचबिखन गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । तामाङले दिल्ली र मुम्बईमा आफ्नो वेश्यालय सञ्चालन गरी त्यहाँ नेपालबाट लगिने चेलीहरूलाई काममा लगाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । भारतबाट भागेर आएका युवतीले जाहेरी दिएपछि सिआईबीले उनीमाथि अनुसन्धान थालेको थियो । -जनतापोस्ट

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top