World Tuberculosis Day 2025
sujim advert

नुवाकोटका मतदाताले वाम गठवन्धनलाई सदैव साथ दिन्छन् : नारायणप्रसाद खतिवडा

    कार्तिक १७, २०७४

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

bidur tax consultancy services in nuwakot
health office nuwakot awareness

नेकपा (एमाले) नुवाकोटका अध्यक्ष नारायणप्रसाद खतिवडा जिल्लामा लोकप्रिय इमान्दार र स्वच्छ छवि भएका नेतामा पर्छन ।  उनीसंग चार दशक अगाडिदेखिको राजनीतिक अनुभव छ । ६० वर्षिय खतिवडालाई नुवाकोटका सबै स्थान र समुदायका सम्वन्धमा जानकारी छ । तारकेश्वर गाउंपालिका वडा नं. २ तारुका घर भएका खतिवडा जनतालाई प्रत्यक्ष सेवा गर्न शिक्षण पेशा छाडेर पार्टी भुमिगत भएकै बेलादेखि राजनीतिमा होमिए । नेकपा  एमाले नुवाकोटका संस्थापकसमेत रहेका खतिवडासंग पार्टीको जिल्ला सदस्य, सचिवालय सदस्य हुदै दुई पटकसम्म निर्वाचित जिल्ला अध्यक्ष भई कार्य गरिसकेको अनुभव छ ।  सबैका ‘नारायण दाइ’को उपमाले प्रख्यात खतिवडासंग २०५४ सालदेखि तीन वर्षसम्म तत्कालीन जिल्ला विकास समितिको उपसभापति र दुई वर्ष सभापति भई जनताको कार्य सम्पादन गरेको अनुभव छ । सदरमुकाम विदुर समेटिएको क्षेत्र नं. २ मा कांग्रेस नेता अर्जुननरसिह केसीसंग वाम गठवन्धनका उम्मेदवार एमाले नुवाकोटका अध्यक्ष तथा जिविस नुवाकोटका पुर्व सभापति नारायणप्रसाद खतिवडा चुनावी मैदानमा भिडेका छन् । खतिवडा २०७० सालको दोश्रो संविधान सभा निर्वाचनमा नुवाकोट क्षेत्र नं. ३ मा निकटतम प्रतिद्वन्दी थिए । प्रस्तुत छ, त्यागी नेता खतिवडासंग  गरिएको सारसंक्षेप । 

मतदाताको प्रतिक्रिया कस्तो पाउनुभयो ?

म एक सातादेखि चुनावी प्रचारप्रसार अभियानमा सक्रिय भएर लागेको छु । नुवाकोटको पश्चिमी भेगमा रहेको मेघाङ गाउंपालिकामा चुनावी कार्यक्रम सकें । किस्पाङमा गरिरहेको छु । दुवै गाउंपालिका सचेत तामाङ समुदायका मतदाताको बाहुल्यता रहेको स्थान हो । अब नगर तथा अन्य गाउं केन्द्रीत कार्यक्रममा सकिय भएर लाग्छु । म हरेक गाउंमा पुग्दा मेरो विगतलाई साक्षी राखेर मेरो विजयका लागि मतदाताको शुभेच्छा, शुभकामना मैले प्राप्त गरेको छु । मलाई तपाईहरु लाग्नुस् यसलाई सकारात्मक रुपमा अघि बढाउनुहोस् हामी तपाइका साथमा छौं भन्ने शुभेच्छा अधिकांशले राखेका छन् ।

मंसिर १० गते पहिलो चरणमा नुवाकोटमा प्रतिनिधिसभा र प्रतिनिधिसभाको निर्वाचन एकैदिन हुने भएको छ । प्रत्यक्ष र समानुपातिकको फरक फरक मतपत्र हुने र हामी गठबन्धन बनाएर अघि बढिरहँदा निर्वाचनमा मतदान गर्ने कुरामा मतदातामा केही ‘कन्फ्यूजहरु’ छन् । छिटो मतदाता शिक्षा कार्यक्रम लागू गर्न निर्वाचन आयोगलाई अनुरोध गर्दछु । कसरी मतदान गर्ने के गर्ने, हाम्रो मत बदर त हुँदैन भन्ने कन्फ्युज छन् । यसलाई चुनावको क्रममा हटाएर लैजाने छौँ ।

अर्को कुरा विकास निर्माणमा यो तालमेलले थप टेवा पु¥याओस् र पहिलेजस्तो जितेर जाने र जनताको काम नगर्ने, मन्त्री बन्ने अनि नफर्कने कुरामा स्थिति नबनोस् र यी कुराहरुलाई चिर्न वाम गठबन्धन सचेत भएर अघि बढोस् भन्ने चाहना रहेको छ ।

वाम गठवन्धनको चुनावी अभियान कसरी अघि बढिरहेको छ ?

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको तर्फबाट संयुक्त उम्मेदवारी दिएका छाँै । यसको पहिलो चरणको कार्यक्रम अन्र्तगत प्रतिनिधिसभा क्षेत्र नं. २ स्तरीय कार्यक्रम पनि यो क्षेत्रका विभिन्न स्थानमा गरिसकेका छौँ । प्रदेश सभातर्फ उम्मेदवारी दिनुभएका नेताहरु पनि वाम गठबन्धनलाई बलियो वनाउंदै हिड्नुभएको छ । अहिले हामी घरदैलो, गाउँपालिकास्तरीय भेला, प्रशिक्षण, भेटघाटजस्ता कार्यक्रम सञ्चालन गरिरहेका छौँ ।  विस्तारै विस्तारै चुनावी आमसभामा केन्द्रीत हु्ँदै दुई ठुला पार्टीवीचको गठबन्धन भएकाले संयुक्त भेला निर्वाचन परिचालक कमिटि गठन लगायतका कार्यक्रम गरिरहेका छौँ ।

तालमेल गरेर चुनावमा उत्रिँदा कार्यकर्ताको मनोभावना कस्तो पाउनुभयो ?

कार्यकर्तामाझ वाम एकताप्रति अत्यन्त उत्साह रहेको छ । यो उत्साह मतदाता तहसम्म पुगेको छ । कार्यकर्ता तहमा कसरी व्यवस्थापन हुन्छ भन्ने अन्योलमा कता कता भएको हुन सक्छ । त्यो पनि शिर्ष नेताहरुले टुंग्याउने कुरा भयो । मेरो विगतमा जिविस तथा पार्टीमै रहेर गरेको कामको कदर यस पटक पक्कै हुन्छ भन्ने विश्वासमा रहेको छु ।

तपाइसंग प्रतिस्पार्धमा लोकतान्त्रिक गठवन्धनका अर्जुननरसिह केसी छन् नि ?

हेर्नुस, अर्जुननरसिह केसी नुवाकोटमा कम्युनिष्ट एक नभएको वेलामा पटक÷पटक चुनाव जितेर मन्त्रिसमेत हुनु भयो । उहांले नुवाकोट र नुवाकोटे मतदाताको हितमा के गर्नुभयो ? त्यो त तपाइ हामी सबैलाई घाम जस्तै उज्यालो छ । अहिले कम्युनिष्टहरु एक भएका छौं । परिवर्तन, स्वाभिमान र एकताको पक्षमा रहेका नुवाकोटका मतदाताले अब वाम गठवन्धनलाई सदैव साथ दिन्छन् ।

वाम उत्साह हुनुपर्ने के कारण छ ?

नेपाली मतदाताको कम्युनिष्टहरु एकै ठाउँमा उभिदिए हुन्थ्यो भन्ने लामो समयदेखिको चाहना हो । तर, विविध कारणले यो कुराले निरन्तरता पाउन सकेको थिएन । अहिले दुई प्रमुख घटकहरु एक ठाउँमा उभिएका छन् । त्यसैले नागरिकहरु सबैभन्दा खुशी छन् ।  दोस्रो कुरा नेपालमा परिवर्तनको नेतृत्व गर्ने पार्टी नै कम्युनिष्ट पार्टी हुन् । यो कुरा आम मतदातालाई थाहा छ । बाहिरी प्रचारमा जे भएपनि फिल्डमा खट्ने, लाग्ने पार्टी कम्युनिष्ट पार्टी हो । यो पार्टीले नै परिवर्तनको नेतृत्व गर्न सक्छ भन्ने कुरा आम नागरिकलाई राम्रोसँग थाहा छ ।

तेस्रो कुरा प्रगतिशील फड्को मार्ने देशमा विकास निर्माण र सामाजिक सुरक्षासम्मको कुरामा अग्रगामी कुरामा कम्युनिष्ट पार्टीले मात्र अग्रगामी दृष्ट्रिकोण अगाडि सारेको छ । यसले मात्र यसको नेतत्व गर्न सक्छ भन्ने कुरा थाहा छ । चौथो कुरा हामी ६÷६ महिनामा सरकार परिवर्तन गर्ने प्रवृत्ति रहेको छ । त्यसमा पनि बाह्य हस्तक्षेप रहने कुरा छ । नेपाली जनता त्यसको अन्त्य गर्न चाहन्छन् । दीगो सरकार गठन गर्नेए र बाह्य हस्तक्षेप विरुद्ध यो एकता र गठबन्धनले अन्त्य गर्नेछ ।  पाँचौ कुरा राष्ट्रियताको सवालमा डटेर कुरा गर्ने वकालत गर्ने, राष्ट्रिय मुद्दामा एकजुट भएर अघि बढ्ने पार्टी नै कम्युनिष्ट हुन् ।

त्यसैले यिनीहरु मिल्दा राष्ट्रिय स्वाधिनता, अखण्डतामा सार्वभौमिकताको रक्षा हुन सक्छ भन्ने नागरिकले प्रत्यक्ष महसूस गरेका छन् । त्यसकारण नागरिकहरु यो गठबन्धनको पक्षमा छन् ।

वाम तालमेलप्रति कतिपय कार्यकर्ता र मतदाताहरु संसय व्यक्त गरिरहेका छन् नी ?

केही भ्रम हुनु स्वभाविकै थियो । एकताका निम्ति, चुनाव आइसकेको थियो , त्यस्तो अवस्थामा हामीसँग दुई वटा बाटो थिए । एउटा तत्काल एकता घोषणा गर्ने अनि निर्वाचनमा जाने । अर्को निर्वाचनमा सँगै जाने । निर्वाचन नजिकै आइसकेकोले तुरुन्त एकताको घोषणा गरेर जाँदा धेरै कुराहरु मिलाउन गाह्रो हुन्थ्यो, त्यसैले त्यो त्यति सम्भावना थिएन । त्यसैले यी दुई वटा पार्टीहरुमा चुनावी तालमेल गर्ने र यो तालमेलाई चुनाव पछि पार्टी एकीकरणमा लगेर टुंग्याउने सहमति भएको छ ।

यस बीचमा के प्रयाससम्म भयो भने हामी एउटै चुनाव चिन्ह लिएर निर्वाचनमा उभिने कुरा पनि भयो । तर, यो कानुनी रुपमा त्यति सहज भएन र फरक फरक चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका छौँ । यसको मुल उद्देश्य भनेको पार्टी एक बनाउने नै हो । यसमा कुनै संसय छैन । पार्टी पंक्तिमा जुन उत्साह देखिएको छ यसले पार्टी एकता हुन्छ भन्ने कुरामा ढुक्क नै छ ।

एजेण्डगत हिसावमा त एमाले र माओवादी फरक फरक बाटोमा हिँडिरहेका छन् यसको समायोजन कसरी हुन्छ ?

हो, मुल कुरा विचार र सिद्धान्तको कुरा हो । नेकपा एमालेले आत्मसात  गरेको बहुदलीय जनवाद हो । यसलाई हामीले हाम्रो पार्टीको मार्गदर्शन सिद्धान्त भनेका छौँ । र माओवादी केन्द्रले अंगिकार गरेको एक्काइसाँै सताब्दीको जनवाद हो । यसका बीचमा खासै भिन्नता छैन । हामीले हिजो अस्तीमै भनेका थियौँ, जवजकै अर्को रुप हो । तर, यसमा व्यवहारिक रुपमा सांगठानिक रुपमा केही फरक छन् ।

तत्कालीन कार्यनीतिको बारेमा केही फरक पाटाहरु छन् । तत्कालीन समयमा जनयुद्धको आवश्यकता छैन, शान्तिपूर्ण आन्दोलनको माध्यमबाट परिवर्तन ल्याउन सकिन्छ भन्ने एमालेको धारणा थियो, अन्तत माओवादीले त्यही ग¥यो । त्यसकारण यो ठूलो कुरा हो जस्तो मलाई लाग्दैन । यसमा नेतृत्व पंक्तिलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरामा केही चुनौती छ । पार्टी एकीकरणका बेला यी सबै कुराहरु मिलाएर अघि बढ्छौँ ।

प्रसंग बदलौँ, नुवाकोटमा प्रतिनिधिसभातर्फ उम्मेदवारी दिनुभएको छ, तपाईका एजेण्डाहरु के के छन् ?

अहिलेको मुख्य एजेण्डा भनेको संविधान र संघीयताको कार्यान्वयन नै हो । घोषणा भएको संविधानको व्यवहारिक कार्यान्वयन गर्नको लागि निर्वाचन जरुरी थियो । निर्वाचन पछि पनि यसलाई उचित रुपमा कार्यान्वयन गर्नको लागि कम्युनिष्टकै सरकार आवश्यक छ । संविधान बनाउन जसले ठूलो योगदान दियो, उसैले मात्र संविधानको रक्षा गर्न सक्छ ।

फलानो प्रधानमन्त्री भएको बेला संविधान जारी भयो भनेर भन्ने गरिएको छ , संविधान जारी गर्ने अभिभारा संविधानसभा अध्यक्ष (सभामुख) को हो । संविधानसभाका नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ हुनुहुन्थ्यो । त्यतिबेला नेकपा एमाले र माओवादी केन्द्र सहमत नभएका भए के संविधान जारी गर्न सम्भव थियो ? त्यस्तो अवस्थामा फेरी पनि संविधान जारी नहुन सक्थ्यो । धेरै एजेण्डाहरुमा हामी सहमत भएर गएका छौँ । दोस्रो कुरा संविधानमै उल्लेख भएको छ, यो संविधान समाजवाद उन्मुख छ । समाजवाद कम्युनिष्टहरुको नारा हो । त्यसैले यसलाई सही ढंगले लागू गर्नको लागि हामीले जित्नु आवश्यक छ । तेस्रो कुरा समृद्धिको कुरा हो ।

यो हामीले नै अघि सारेका हौँ । एउटा राजनीतिक आन्दोलन सकिएको छ, अव देशले नयाँ फड्को मार्नुपर्छ, देश आर्थिक विकास र उन्नतीको दिशामा अघि बढ्नुपर्छ त्यसको लागि विकास निर्माणको आन्दोलन नै अहिलेको आवश्यकता हो । हामी यही नाराका साथ जनतामाझ गइरहेका छौँ ।

नुवाकोटको सन्दर्भमा के के योजना छ ?

नुवाकोटमा हरेक पटक मन्त्री नछुट्ने जिल्लाको रुपमा चिनिन्छ । तर, हाम्रो विकास निर्माणको गति हेर्ने हो भने लाजमर्दो अवस्थामा हामी रहेका छाँै । झुट्टा आश्वसन दिएर चुनाव जितेर जाने र संसदमा फोहोरी राजनीतिक गर्नमा यहाँका केही पार्टीका नेताहरु लागे । परिणाम स्वरुप नुवाकोटको विकासले गति लिन सकेन । नुवाकोटमा विकास र नागरिकहरु समृद्ध भए भने हाम्रो राजनीति सकिन्छ भन्ने भ्रम पनि अन्य दलका नेताहरुमा पाइन्छ ।

नुवाकोट सम्भावना रहेको जिल्ला हो । नुवाकोटमा विकास गर्ने ठूला र धेरै अवसरहरु छन् । यी अवसरलाई सदुपयोग गर्नको लागि पनि बाम गठबन्धनका उम्मेदवारहरुले जित्नु आवश्यक छ । पछिल्लो समय चीनसँगको सम्वन्ध र केरुङ नाकाको विकासका कारण नुवाकोट धेरै चर्चामा रहेको छ । मनमोहन अधिकारी, माधवकुमार नेपाल, झलनाथ खनाल, केपी शर्माओली प्रधानमन्त्री भएको बेला देशमा धेरै सकारात्मक कामहरु भएका छन् । केपी शर्माओलीको पालामा भएको भएको १६ बुँदे सहमतिले नुवाकोटले धेरै फाइदा लिन सक्छ । त्यसको लागि पनि हाम्रो नेतृत्व आवश्यक छ ।

अंक गणितिय मत आधार कस्तो छ ?

गत वैशाख ३१ मा भएको स्थानीय तहको निर्वाचनलाई आधार मान्दा नुवाकोट भरमा ४४ हजार १ सय १८ मत सहित काग्रेस पहिलो, ४२ हजार १२ मत सहित एमाले दोस्रो र ३४ हजार २ सय ७८ मत सहित माओवादी केन्द्र तेश्रो स्थानमा रहेका छन् । यो निर्वाचनपछि पार्टी एकताको घोषणा गर्दै दोश्रो र तेश्रो शक्ति एउटै गठवन्धन वनाएर निर्वाचनमा आएपछि काग्रेसलाई विगतको विरासत जिल्लामा जोगाउन कठिन भएको छ ।

प्रदेश ३ को अभियान के छन् ?

हामीले एउटा अभियान सुरु गरेका छौँ । प्रदेश नं. ३ को राजधानी नुवाकोटमा बनाइनु पर्छ भनेर भनेका छौँ । नुवाकोट विभिन्न हिसावले राजधानी बन्न लायक छ । यो कुरा हामी सबैले बुझ्नुपर्छ । यसको लागि थुप्रै तर्कहरु हामीले अघि सारेका छाँै । प्रदेशको राजधानी बनाउने कुरा गठबन्धनका उम्मेदवारहरुले जितेनन् भने यो कुरा यही टुंगिने छ । मध्यपहाडी लोक मार्गमा वेत्रावतिदेखि धादिङको बैरेनीसम्म स्मार्ट सिटी बनाउने कुरा छ । हामी यो क्षेत्रलाई स्मार्ट सिटी बनाउनको लागि प्रयास गरिरहेका छौँ । हुन त धादिङ बैरेनीलाई आधुनिक सहर बनाउने चर्चा चलेको छ, तर, मध्यपहाडी लोकमार्गले अहिले त्यहाँ छुँदैन, त्यसैले पनि हामी बैरेनीबाट त्रिशूली खोलाको किनारैकिनार बेत्रावतिसम्म स्मार्ट सिटी बनाउन सक्छौँ ।

नुवाकोट र यसका मुख्य दुई नगर बेलकोटगढी र विदुर नगरपालिकाको विकासको लागि नेकपा एमाले वा वाम गठबन्धनको महत्वपूर्ण योगदान हुने छ । साथै सदरमुकाम विदुरसम्म हरेक गाउँपालिकाबाट पक्की सडकले जोड्ने गाउँपालिका केन्द्रसम्म हरेक वडाबाट पक्की सडक सञ्जालको विकास गर्नेलगायतका थुप्रै कार्यक्रमहरु हामीले घोषणा गरेर चुनावमा मतदातामाझ गइरहेका छौँ ।

मन्त्रीहरु धेरै भएर पनि किन नुवाकोटको विकास भएन जस्तो लाग्छ ?

मैले अघि पनि भनेँ, जनतामाझ झुटो आश्वसन दिने अनि पूरा नगर्ने, अर्को कुरा विकास र समृद्धिको लागि सोच नै उनीहरुसँग भएन र विकास भएन । यदि सोच भइदिएको भए नुवाकोट राजधानीसँग जोडिएको जिल्ला कति चाँडो विकास हुन्थ्यो, सोच र भिजन भइदिएको भए । यो मैले बताइरहनु पर्दैन । यतिसम्मकी यहाँका नेपाली कांग्रेसका नेताहरु अरुले गरेको काम जस लिनलाई नाग टाँसेझँै पसल पसलमा टाँसेर जनता झुक्याउँदै आएका छन् । अर्थ मन्त्री विष्णु पौडेल हुँदा नुवाकोटमा पहिलेको तुलनामा २० गुना बढी योजना र रकमहरु परेका छन् । तर,यी योजनाहरुलाई विफल बनाउन कांग्रेसका मित्रहरु लागिरहेको पनि हामीले देखेका छौँ ।

यसको उदाहरणको लागि पात्ले दुईपीपल सडकको टेण्डर भइसकेको काम फिर्ता गराउने काम भएको छ । यसले पछिल्लो समय राजनीतिलाई फटाई गरेर जालझेल गर्नेहरुका कर्तुतहरु बहिर आइरहेका छन् । केपी शर्मा ओलीको पालामा १७ वटा ग्रामीण सडकको स्तरोन्नती र ११ वटा सिंचाई योजना परेका छन् । यसको लागि कुनै कांग्रेसका सांसदले गरेर बजेट परेको होइन, कसैलाई प्रमाण चाहिन्छ भने म दिन तयार छु । तर, कांग्रेसका सांसदहरु शिर्षक परिवर्तन गर्ने र गाउँ गाउँवीचमा टकराव सिर्जना गरेर योजनाहरु ध्वस्त बनाउने अभियानमा लागेका छन् ।

अन्तमा केही भन्नुहुन्छ कि ?

नुवाकोटका मतदाता अव धेरै शिक्षित भइसक्नु भएको छ । कम्युनिष्ट सिद्धान्त र सरकारले मात्र देशलाई आर्थिक समृद्धि, दीगो शान्ति र परनिर्भरताबाट हामीलाई माथि उठाउन सक्छ भन्ने । आम नागरिकको हितको लागि काम गर्ने कम्युनिष्टहरु नै हो । पटक पटक हामीले गरेको सानो गल्तीका कारण हामी पछि परिरहेका छौँ । त्यसैले यस पटक नुवाकोटका प्रतिनिधि सभातर्फ दुई वटै  क्षेत्र र चारवटै प्रदेशतर्फ वाम गठवन्धनका उम्मेदवारहरु विजयोन्मुख छन् । प्रतिनिधि सभामा मलाईसहित बामगठबन्धनका उम्मेदवारहरुलाई मतदान गरी विजयी गराइदिनुहुन तपाईमार्फत सबै मतदातालाई विनम्र अनुरोध गर्दछु  ।

as fashion store in Trishuli Nuwakot
HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top