२०८०, १५ चैत्र बिहीबार

नेपालको अर्थतन्त्रमा बैदेशिक रोजगारी : उदय रानामगर

    भाद्र १० २०७४ १७:०७

Udaya Ranamagar
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

जनसंख्याले देशभित्र रहेका मानिसहरूको संख्या मात्रलाई नजनाएर त्यसको आकार, बनोट र जनसंख्या परिवर्तनका कारण र असरहरूबारे जानकारी दिन्छ । जनसंख्या विकासका लागि परिचालक तथा प्रयोगकर्ता दुवै हो । जनसंख्याको आकार, बनोट तथा परिचालनबाट नै देशको आर्थिक र सामाजिक विकासको आधार तय हुन्छ । देशको आर्थिक र सामाजिक विकासका लागि जनसंख्या अवसर र चुनौती दुवै हो । यसले राष्ट्रको दायित्व मात्र सिर्जना नगराई अवसर पनि प्रदान गर्दछ । यस्तो अवसरको रुपमा रहेको जनसक्ति व्यवस्थापन गर्न भने विश्वव्यापिकरणकै कारण चूनौति बन्दै आएको छ । जनसख्याको बृद्धि बढी भएकोले यस्को व्यवस्थापन कठिन बन्दै आएको छ ।

यहाको जनसंख्या सन् १९११ मा ५६,३८,७४९ रहेकामा सन् २०११ मा आइपुग्दा बढेर २,६४,९४,५०४ पुगेको छ ।  जनसंख्याको वृद्धिदर विगतको भन्दा केही घटेको देखिए तापनि अझै प्रतिस्थापन दरसम्म झर्न सकेको छैन ।सन् १९८१ मा नेपालको जनसंख्या वृद्धिदर २.६४ रहेकामा सन् २०११ मा आइपुग्दा घटेर १.३५ प्रतिशत रहन गएको छ । यसको कारण हाल नेपालको जन्मदर घटेर २.६ मा सीमित हुन पुगेको छ । यहाको जनसंख्यालाई क्षेत्रगत रूपमा हेर्दा हिमालमा सन् १९७१ मा जनसंख्या वृद्धिदर १.३५ रहेकामा सन् २०११ मा आइपुग्दा ०.५४ प्रतिशतमा सीमित रहन गयो जसका कारणले यस क्षेत्रको जनसंख्या १० प्रतिशतबाट घटेर ७.३ प्रतिशतमा सीमित हुन पुगेको छ । पहाडी क्षेत्रमा सोही अवधिको जनसंख्या वृद्धिदर १.६५ बाट घटेर १.०६ प्रतिशत मात्र रहन गएको कारणले कुल जनसंख्याको ४३.७ प्रतिशतमा सीमित हुन पुग्यो भने तराईमा सोही अवधिमा २.३९ बाट १.७२ प्रतिशतमा झरेको भए तापनि यस क्षेत्रको जनसंख्या बढेर कुल जनसंख्याको ५०.५ प्रतिशत पुगेको छ । देशमा यूवा जनशक्ति बढी रहेको तर उनीहरुको लागि पर्याप्त मात्रामा रोजगारीको अवसर नभएकै कारणले गर्दा यूवाहरु रोजगारीको लागि विदेशिने गरेका छन् ।

नेपालबाट बाहिरिने प्रवासीहरूको संख्या पनि विभिन्न कालखण्ड र घटनाक्रमसँगै फरक–फरक रहेको तथ्यांक तथा अभिलेखहरूमा पाउन सकिन्छ । इतिहासमा उल्लेख रहेअनुसार लिच्छविकालदेखि पृथ्वीनारायण शाहको कालसम्म हेर्दा नेपालमा प्रवासनको क्रम बढेको देखिन्छ । यसको प्रमुख कारणमा विभिन्न समयमा भएका राजनीतिक कलह, खिचातानी रहत्याकाण्डले गर्दा शाहकालमा पनि आफूखुसी भारतमा निर्वासनमा गई बस्ने र शासकहरूले पनि देश निकाला गर्ने परम्परा भएकाले नेपालबाट भारततर्फसरी जाने क्रम निरन्तर चलेको पाइन्छ । पछि सुगौली सन्धि (३ मार्च, १८१६) बाट सीमा खुम्चेपछि ती क्षेत्रमा बसोबास गरेका मानिसहरू प्रवासी हुन पुगे । गोर्खा रेजिमेन्टको गठनलाई सहज बनाउनका लागि तत्कालीन ब्रिटिस–भारत सरकारले विभिन्न स्थान काँगडा, दार्जिलिङ, देहारादुन र सिलोङमा गोर्खा बस्ती स्थापना गरेको हु“दा ती बस्तीहरूमा बसोबास गरी ब्रिटिस सेनामा भर्र्ती हुने अभिप्रायःले ठूलो संख्यामा नेपालीहरू बस्न गएको तथ्य पाइन्छ । राणा शासनकालको विभिन्न कालखण्डमा राजनैतिक कारणले देश निकाला गर्ने गरेका कारणले पनि मानिसहरू भारतमा शरणार्थीका रूपमा सर्ने गरेको पाइन्छ । बीसौँ शताब्दीको सुरुतिर बर्मामा बसाइँ सरी जाने मानिसहरूको संख्या उल्लेख्य रूपमा बढेको देखिन्छ । बर्मेली सेना तथा प्रहरीमा नेपालीहरूले प्रवेश पाउने व्यवस्था भएका कारण नेपाली जवानहरू बर्मातर्फ गएको पाइन्छ । प्रथम विश्वयुद्धको समयमा दुई लाखभन्दा बढी पहाडी मूलका नेपालीहरू ब्रिटिस भारतीय सेनामा काम गर्न गएका थिए भने दोस्रो विश्वयुद्धताका पनि नेपालीहरू गोर्खा रेजिमेन्टमा काम गर्न विदेशिएका थिए । सन् १९६२ को भारत–चीन युद्ध तथा सन् १९७१ को भारत–पाक युद्धताका पनि सेनामा काम गर्न नेपाली जवानहरू भारततर्फ गएको पाइन्छ । यस प्रकार अघिल्ला दशकमा निश्चित केही उद्देश्य लिएर विदेश जाने गरेकोमा पछिल्ला दशकमा विविध कारणले मानिसहरू देशबाट बाहिर जाने गरेका छन् ।
नेपालमा भएको दसवर्षे जनयुद्ध र यसले सिर्जना गरेको राजनीतिक अस्थिरताले अर्थतन्त्रमा पारेको नकारात्मक प्रभावको कारणले गर्दा देशमा रोजगारमूलक उद्योगहरू धराशायी हुन पुगे । यसले गर्दा देशको नै लाभांशका रूपमा रहेको युवा जनशक्ति दैनिक रूपमा ठूलोे संख्यामा देशबाट बाहिरिंदा अरब मुलुकका लागि अवसरका रूपमा परिणत हुन पुगेको अवस्था छ । यसकारण बाहय रोजगारीको अवस्था फेरि पनि व्यवस्थापनको दायराभन्दा बाहिर गएको देखिन्छ । वैदेशिक रोजगारीमा जानेको संख्या र पुनः रोजगारीमा जानेको अनुपात बढीरहेको छ । बिस २०५० देखि २०७३ असार मसान्तसम्मलाई आधार मान्दा जम्मा श्रम स्वीकृति लिनेको संख्या ४३७८६५६ (पुरुष ४२२३५४३ र महिला १५५११३  रहेको छ ।  विप्रेषणको मात्रामा पनि उल्लेख्य रुपमा बढेर गएको छ । यो अंक आर्थिक बर्ष २०७१। ०७२ को बजेटको हाराहारीमा नै भित्रिएको तथ्यांकले देखाउँदछ, जहा नेपाल सरकारको बिनियोजित बजेट ६ खर्ब १८ अर्ब थियो भने बिप्रेषण ६ खर्ब १७ अर्ब २८ करोड रहेको थियो । मुलुकका ५६ प्रतिशत घरपरिवारमा विप्रेषण भित्रिने गरेकोले गरिवी निवारणमा विप्रेषणको महत्वपूर्ण योगदान हुने गरेकोछ । गाउघर बिस्तारै रित्तिदो, एकल परिवारको अवधारणा बिकसित र पारिवारीक बिखण्डन हुनेक्रम बढेर गएको छ । दिनहु औसतमा १२०० जना वैदेशिक रोजगारीमा जाने र ३ देखि ५ वटासम्म शव आउने जस्ता समस्या बढ्दै गएको छ ।
विश्व भूमण्डलीकरण पश्चात वैदेशिक रोजगार अनिवार्य र भौगोलिक सिमाले छेक्ने विषय अव रहेन । विश्वका विभिन्न देशमा बैदेशिक रोजगारीमा जाने क्रममा २१ करोड ५० लाख मानिस आफ्नो देश बाहिर रहेका छन् । नेपालबाट बाहिरिने जनसंख्यालाई हेर्दा वि.सं. २०५८ को जनगणनाको नतिजा प्रतिवेदनअनुसार कुल ७,६२,१८१ मानिसहरू बाहिरिएका थिए भने वि.सं. २०६८ सम्म आउ“दा सो संख्या उल्लेख्य रूपमा बढेको देखिन्छ । जनगणना २०६८ मा कुल १९,२१,४९४ मानिसहरू विदेश गएका र तीमध्ये १६,८४,०२९
(८७.६४%) पुरुष र २,३७,४०० (१२.३६%) महिलाको संख्या रहेको छ भने विदेश जानुपर्नाको प्रमुख कारणमा ८१.०४% निजी तथा संस्थागत सेवा र कामका लागि गएका छन् भने ६८.२ आश्रितका रूपमा र ५.७५% अध्ययनका लागि गएको देखिन्छ । नेपालबाट वैदेशिक रोजगारीमा सवैभन्दा बढी जनसख्या जाने जिल्लाको सूचीमा पहाडी जिल्लाबाट तनहुं, तराइबाट झापा र मधेशबाट धनुषा पर्दछ । रोजगारीको निमित्त बढी जाने देशको सूचीमा मलेसिया अगाडी आउदछ । नेपालबाट विदेश जाने ३ मध्ये १ जना मलेसिया जाने गरेको छ ।
देशबाट बाहिरिने अधिकांश मानिस काम गर्ने उमेर समूह (१०–५९ वर्ष) का भएकाले आर्थिक रूपले सक्रिय जनशक्तिको ठूलो हिस्सा देशबाट बाहिरिएको स्थिति स्पष्ट रूपले देख्न सकिन्छ । देशबाट बाहिरिएका जनशक्तिको ठूलो हिस्सा मलेसिया, कोरिया, अरब मुलुकहरू, भारत र जापान जस्ता देशमा काम गर्न गएका छन् । तर श्रम तथा रोजगार विभागको आ.व २०७२÷७३ को फागुन मसान्तसम्मको तथ्यलाई हेर्दा वैदेशिक रोजगारमा जाने नेपालीको संख्या २,८०,२३५छ ।तेस्रो जीवनस्तर सर्भेक्षणअनुसार नेपालबाट रोजगारीकोक्रममा बाहय देशहरुमा जाने जनसख्या १२ प्रतिशत रहेको छ । नेपालबाट दैनिक रूपमा ठुलो सख्यामा युवा जनशक्ति औपचारिक तथा अनौपचारिक रूपमा विदेशिने गरेकाले हाल विदेशमा हाम्रा युवाको संख्या करिब ५० लाख पुगेको अनुमान गरिएको छ ।
यसरी विदेशमा जानेहरुमा पनि कामका लागि जाने मानिसहरु मध्ये ७१ प्रतिशत रोजगारीकै क्रममा गएका छन् भने त्यसमा पनि अधिकांश बिनासीप जाने गरेको हँुदा यसबाट नेपालले आशातीत रूपमा विप्रेषण प्राप्त गर्न सकेको छैन । तर पनि विदेशिने जनशक्तिले त्यहा आर्जन गरेको पारिश्रमिकबापतको विप्रेषण आफ्ना परिवारलाई पठाउँदा समग्र अर्थतन्त्रलाई ठूलो टेवा मिल्दै आएको छ । सन् २०११÷१२ मा यस्तो विप्रेषण रकम ४÷५ खर्ब बराबर प्राप्त भएको थियो भने हाल यो बढेर कुल गार्हस्थ्य उत्पादनको २९ प्रतिशत पुगेको छ । तर अर्काेतर्फ विदेशिने युवा वर्गले तिर्ने हवाई भाडा, भिसा शुल्क तथा अन्य सेवा शुल्कसमेत गरेर नेपालबाट सन् २०१६ मा ५६ अर्ब ४१ करोड रकम बाहिर गएको पाइन्छ । तरपनि नेपालको समष्टिगत आर्थिक स्थितिलाई सन्तुलित र स्थिर राखि राख्न विप्रेषण मुख्य आधार बनेकोछ । विप्रेषणको रकम वैदेशिक मुद्रामा प्राप्त हुने भएकाले विदेशी विनिमयको सञ्चिति बढेकाले वि.सं. २०७२ फागुन मसान्तसम्ममा नेपालमा विदेशी विनिमय सञ्चिति रु.१००६ अर्ब रहेको र यो अंक गत वर्षको सोही अवधिको भन्दा २३.८ प्रतिशतले बढी भएकाले यसबाट १८.८ महिनालाई वस्तु तथा सेवा आयात गर्न मात्र पुग्छ भन्ने नेपाल राष्ट्र बैंकको दाबी छ ।
विप्रेषणले नेपालको आर्थिक अवस्थालाई स्थिर र सन्तुलित राखी अर्थतन्त्रलाई विचलनबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ । सोही रकमको कारणले देशभित्र आन्तरिक स्रोत जुटेका र उत्पादनमूलक लगानीका लागि अवसर पनि प्राप्त भएको छ । तर वैदेशिक रोजगारीको कारणले पारिवारिक विचलन बढ्नुका साथै कृषि भूमि बाँझो रहने प्रवृत्ति भने बढेर गएको अवस्था छ । अर्कोतर्फ बाहिरिएका अधिकांश मानिसहरू अशिक्षित, सीप र तालिम, नभएका कारण विदेशी श्रम बजारमा न्यून पारिश्रमिकमा काम गर्न बाध्य रहेका छन् ।
राष्ट्रको समग्र विकास र प्रगतिका लागि उपलब्ध जनशक्तिको यथोचित उपयोग अपरिहार्य हुन्छ । यसको लागि देशमा उपलब्ध जनसाधन अधिक मात्रामा परिचालित हुनुपर्ने हुन्छ । देशभित्र उत्पादनमूलक रोजगारीका अवसरहरू सिर्जना गरी यहा उपलब्ध जनशक्तिको भरपूर उपयोग गरिनु पर्छ साथै वैदेशिक रोजगारबाट प्राप्त विप्रेषणलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सके देशभित्र उत्पादन, रोजगारी बढ्न र जनताको आय समेत बढ्न जाने भएकाले विप्रेषणलाई उत्पादनमूलक लगानीमा लगाउन सरकारले उपयुक्त वातावरण सिर्जना गर्न पहल गर्नुपर्छ । वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन नीति बनाउने र यसका लागि कार्यान्वयन गर्ने संस्कारको विकास गर्न आवश्यक छ ।
भनिन्छ, नीतिहरूको प्याकेज अपूरो भयो भने पुनर्बहाली सुस्त हुन्छ र आर्थिक वृद्धि तथा रोजगारी सिर्जनाहरु पनि सम्भाव्य तहभन्दा तलै हुन्छ । नेपालमा पनि बैदेशिक रोजगारीको व्यवस्थापनका लागि लिइएको नीतिको पूर्ण कार्यान्वयन गर्न नसकिंदा आर्थिक वृद्धि र रोजगारी सिर्जनाको पाटो ओजेलमा पर्दै आएको छ । अतः त्यसको लागि बैदेशिक रोजगारीलाई व्यवस्थित गरी विकासका पूर्वाधारहरूको वितरणमा समताको अवधारण लागू गर्नुपर्छ भने  आन्तरिक रोजगारीको अभिवृद्धि गरी वैदेशिक रोजगारीलाई बढी सुरक्षित र बढी आम्दानी हुने क्षेत्रमा परिचालन गर्नुपर्छ । यसका साथसाथै विदेशी श्रम बजारबाट सिकेर आएको सीप र ज्ञानलाई स्वदेशमा फर्केर आएपछि राष्ट्रिय उत्पादनको प्रक्रियामा प्रयोग गर्न पाउने वातावरण बनाउनु राज्यको दायित्वभित्र पर्छ । अतः यी सबै क्षेत्रको उचित सम्बोधनका लागि राष्ट्रमा मानव संसाधन व्यवस्थापन नीति तर्जुमा गरी कार्यान्वयनमा ल्याउन अति आवश्यक छ । यसबाट बैदेशिक रोजगारीबाट सिर्जित समस्याको उचित सम्बोधन गरी प्राप्त अवसरको उपयोग गर्नेतर्फ सबै सरोकारवालाको प्रतिबद्धता आवश्यक छ । यसो भएको खण्डमा नेपालको अर्थतन्त्रको सुधारको लागि वैदेशिक रोजगारी सहयोगी बन्न सक्दछ ।
लेखक उदय रानामगर नवलपरासी जिल्लाको प्रमुख जिल्ला अधिकारी पदमा कार्यरत हुनुहुन्छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top