sujim advert

राउटे महिला : अस्तित्वमै चुनौती

    ९ वर्ष अगाडि

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

sancharika samuha
bidur tax consultancy services in nuwakot

राउटे जातिको जीवन जटिल सङ्क्रमणबाट गुज्रिरहेको छ । यो जातिका महिलाको अवस्था झनै दयनीय छ । दोसाँधमा रहेको यो मानव जातिको अस्तित्वरक्षाका लागि राज्यले सोच्न ढिला भइसकेको छ ।

दैलेख । गोर्पी शाही ७५ वर्षीया राउटे एकल महिला हुन् । आठ छोरी र दुई छोराकी आमा गोर्पीको जति दुःख सायदै अरू राउटेले भोग्नुपरेको छ । १० सन्तान जन्माइन्, साथमा एउटै रहेनन् । पति शेरबहादुर शाहीको दुई वर्षअघि सुर्खेतमा मृत्यु भयो । पतिको निधनपछि उनी झन् बेसहारा बनिन् । उनी भन्छिन्, ‘दुःख कति छन् कति भनिसाध्य छैन् ।’

घुम्दै–फिर्दै हिँड्ने राउटे अहिले अछामको रानीवन जङ्गलमा पुगेका छन् । फिरन्ते जीवनपद्धति अपनाउने यो समुदाय अलगअलग छाप्रामा बस्छन् । त्रिपाल, पातपतिङ्गरले छाएको बस्तीको सिरानमा एउटा छाप्रो छ । अन्य छाप्रामा जस्तो त्यहाँ कुनै चहलपहल देख्न सकिन्न । त्यही छाप्रोमा गोर्पी न्यास्रो भावले आगन्तुकतर्फ टुलुटुली हेरिरहेकी हुन्छिन् । महिलाले कोहीसँग बोल्नुहुँदैन भन्ने रुढीवादी मान्यताले राउटे समुदायमा जरो गाडेको छ । एकल महिलाले त झन् बोल्ने स्वतन्त्रता पाउनु राउटे समुदायका लागि टाढाको कुरा मानिन्छ ।

८० वर्षीया असेरा शाही पनि राउटे एकल महिला हुन् । पति नभए पनि छोराबुहारीले उनलाई पालेका छन् । तैपनि उनको मनमा शान्ति छैन । चाहे चामल होस् या लुगाफाटो । सबैलाई बाँडिसकेपछि एकल महिलाको पालो आउँछ । त्यो पनि बाँड्दाबाँड्दा नपुगे त्यसै चित्त बुझाएर बस्नुपर्छ । सुखसुविधा धनदौलतदेखि टाढा बस्न रुचाउने राउटे समुदायभित्र सबैभन्दा बढी एकल महिला थिचोमिचो सहन बाध्य छन् । जिउज्यान धरापमा राखेर पतिले चाहेजति सन्तान जन्माउनुपर्ने बाध्यता छ । परिवार नियोजन, खोप, आधुनिक औषधि–उपचार पद्धतिदेखि टाढै छन् उनीहरू । त्यसकै मार भोग्नुपरेको छ राउटे महिलाले ।

बाबियोमाथि बच्चा जन्माउँदासमेत कुनै सन्तान नबाँचेको गोर्पीले बताइन् । राउटे समुदायमा बाबियोमाथि बच्चा जन्माउँदा मर्दैनन् भन्ने विश्वास छ । तर, गोर्पीले जन्माएका सबैको मृत्यु भयो । ‘कुनै बाँकी रहेनन्,’ उनी भन्छिन्, बाँचेका पनि ठूला भएर दुर्घटनामा परे ।’

सरकारले स्वास्थ्य संस्थामा सुत्केरी गराउन वर्षेनी करोडौँ बजेट खर्च गर्दै आएको छ । सुरक्षित सुत्केरीका लागि महिलालाई प्रोत्साहन हुने विभिन्न कार्यक्रम सञ्चालनमा छन् । तर, आधुनिक समाजदेखि धेरै टाढा रहेका कारण राउटे समुदायका महिलाका लागि सुरक्षित मातृत्व कार्यक्रमको कुनै अर्थ छैन । राउटे महिला राज्यका यी सुविधाबाट टाढा छन् । गर्भवती हुँदा न पोषिलो खानेकुरा खान पाउँछन् न आइरन चक्की । सुत्केरी हुँदा स्याहारसुसार पनि पाउँदैनन् । भात, मसलाबिनाको तरकारी, कन्दमूलका भरमा छाक टार्छन् । कहिलेकाहीँ कतिसम्म सास्ती भोग्नुपर्छ भने शिशु जन्मिएकै दिन बसाइँ सर्नुपर्ने अवस्था आउँछ । सुत्केरी हुन नसकेर कतिपयले अकालमा ज्यान गुमाएको उदाहरण पनि छन् ।

राउटे उत्थान प्रतिष्ठान, नेपालकी अध्यक्ष सत्यदेवी अधिकारी ‘जङ्गलका राजा’ दाबी गर्ने राउटे अगुवाले आफ्ना महिलालाई छाप्रोभित्रै गुमराहमा राख्नु लाजमर्दो भएको बताउँछिन् । ‘जङ्गलमै बस्ने भए पनि राउटे समुदायलाई सचेत बनाउन आवश्यक छ । यस्तै अवस्था रहिरहे केही वर्षमै सिङ्गो राउटे जाति लोप हुने खतरा छ,’ सत्यदेवी भन्छिन्, ‘सुरक्षित मातृत्वको अभियान कसरी राउटे समुदायसम्म पु¥याउने सरकारले समयमै सोच्नुपर्छ ।’

बालविवाह र असुरक्षित सुत्केरीले राउटेको जनसङ्ख्या वर्षेनी घट्दो छ । जङ्गलमै घुमन्ते जीवन बिताउने हुँदा मृत्युको खबर प्रायः बाहिर आउँदैन । अगुवा राउटेबाहेक अन्यको मृत्यु गुपचुपजस्तै हुन्छ । लोपोन्मुख जातिमा पर्ने नेपालको यो समुदायको सङ्ख्या करिब डेढ सयजति मात्रै छ । राउटे समुदायसँग नजिक रहेका स्थानीय पत्रकार भक्तबहादुर शाही बेग्लै वंश, धर्म, संस्कृति, भाषा भएको सानो मानव जाति पृथ्वीबाट लोप हुने अवस्थामा पुग्नु दुर्भाग्यपूर्ण हुने बताउँछन् । उनी भन्छन्, ‘पृथ्वीमा रहेका प्राणीदेखि वनस्पतिको विश्वव्यापी संरक्षण भइरहेका बेला राउटे जातिको अस्तित्वरक्षाका लागि कतैबाट पहल नहुनु दुःखद् हो ।’

आर्थिक वर्ष ०६५÷६६ देखि नेपाल सरकारले राउटेलाई लोपोन्मुख भत्ता दिन थाल्यो । सुरुको एक वर्ष प्रतिव्यक्ति मासिक पाँच सय र त्यसयता मासिक एक हजार दिने गरिएको छ । जुन जिल्लामा बसाइ“ सर्छन् त्यही जिल्लाबाट भत्ता पाउन व्यवस्था छ । तैपनि सरकारी भत्ताको स्वाद राउटे महिलाले चाख्न पाएका छैनन् । महिलाले बुझे पनि पैसा पुरुषले नै राख्छन् । पुरुषको हातमा परेको भत्ता धेरैजसो मदिरा र सुर्तीमै खर्च हुने गर्छ ।

चिटिक्क परेका घरभन्दा स्याउला र कपडाले छाएका छाप्रा उनीहरूका लागि दरबार हुन् । लेखपढ, जागिर, सुख–सुविधा, धनदौलतप्रति कुनै आकर्षण छैन । अहिलेसम्म नागरिकता लिएका छैनन् । देशभित्र बसोबास गर्ने अनागरिक हुन् उनीहरू । रोग लागेमा उपचार गराउन सितिमिति स्वास्थ्य संस्थामा जा“दैनन् । त्यसको मारमा छन्, राउटे महिला ।

राउटेहरू गुना, बाँदरको सिकार गर्छन् । खानामा कन्दमूल खान्छन् । काठका भाँडाकुडा बनाई साटफेर, बिक्री गर्नु उनीहरूको मुख्य पेसा हो । अन्य समुदायझैँ धर्मकर्म, संस्कृति, रीतिथिति, देवीदेउता, चाडबाड मान्छन् । विशेषगरी अछाम, दैलेख, सुर्खेत, दाङ, सल्यान, रुकुम, जाजरकोट जिल्लाका जङ्गलमा बसोबास गर्न रुचाउँछन् । समुदायका सदस्यको मृत्यु भएमा र बस्तीमा अन्य कुनै समस्या आइपरे मात्र बसाइँ सर्ने प्रचलन छ । ‘राउटेको जीवन जटिल सङ्क्रमणबाट गुज्रिरहेको छ । दोसाँधमा रहेका जातिको अस्तित्वरक्षाका लागि सरकारले सोच्न ढिला भइसकेको छ,’ सत्यदेवी भन्छिन्, ‘आदिवासी जनजातिमध्येका एक राउटे राष्ट्रका गहना हुन् । सबैले जातीय पहिचान खोजेका बेला राउटेको पहिचान मेटाउनु हुँदैन ।’

सरकारले समग्र आदिवासी जनजाति समुदायको सामाजिक, आर्थिक तथा सांस्कृतिक क्षेत्रमा सर्वाङ्गीण विकास गर्ने उद्देश्यले ०५८ मा आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठान गठन ग¥यो । तर, यो प्रतिष्ठानले लापोन्मुख राउटेका लागि एक रुपैयाँ पनि खर्च गरेको छैन । राउटे जातिलाई लोप हुनबाट जोगाउन सुरक्षित मातृत्वसम्बन्धी अभियान सञ्चालन गर्नुपर्ने गैरसरकारी संस्था राउटे उत्थान प्रतिष्ठान नेपालको सुझाव छ ।

‘सरकारले गर्भवती र सुत्केरी अवस्थाका राउटे महिलालाई विशेष सेवा–सुविधा प्रदान गर्नु राम्रो हुन्छ,’ जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा. निर्मल रसाइली भन्छन्, ‘जङ्गलमै परम्परागत रूपले बसोबास गरे पनि उनीहरूलाई आधारभूत स्वास्थ्य सेवा ग्रहण गर्न सक्ने बनाउनुुपर्छ । तब मात्र संरक्षण सम्भव हुन्छ ।’ डा. रसाइली भन्छन्, ‘हामीले स्वास्थ्य सेवा दिन खोजे पनि उनीहरू अनुशरण गर्दैनन् ।’ उनी भन्छन्, ‘सरकारले कम्तीमा अब एउटा बेग्लै ‘हेल्थ फोर्स’ परिचालन गरी आधारभूत स्वास्थ्य सेवा प्रदान गर्नुपर्छ ।’

– सञ्चारिका फिचर सेवा

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top