२०७७, ७ आश्विन बुधबार

“स्थानीय जनशक्तिमार्फत विकास निर्माण सुरु गरौँ”: भोलाराज पौडेल

लकडाउन डायरी

डबली खबर     बैशाख ७ २०७७ १५:५५



bholaraj poudel press organization nepal nuwakot chapter

हामी अहिले चौथो साताको बन्दाबन्दी (लकडाउन)बाट गुज्रिरहेका छौँ । कोभिड–१९ (कोरोना भाइरस)को संक्रमणबाट बच्नको लागि सरकारले घरभित्रै सुरक्षित बस्न सकेमात्रै हामी कोरोनाबाट बच्न सक्छौँ । सरकारले पनि म र मेरो परिवार, अनि समाज र देशका नागरिकलाई ठूलो महामारीबाट बचाउनको लागि घरभित्रै बाहिरी मान्छेसँग भेटघाट नगर्नको लागि भनेको हो । हामी यो देशका नागरिक हौँ । यो विपद्को बेला हामीले राज्यले गरेका नितिनियम र आदेशलाई पालना गर्ने हो । यो रोग जति जनसम्पर्क गर्‍यो, उत्तिनै बढी सर्ने सम्भावना रहने भएकाले सरकारले हिँडडुल नगर्न भनेको हो । त्यसैले आजकाल मेरो पनि दैनिक फेरिएको छ । विहान उठ्ने, करेसावासी जाने अलि टाढामा चोकको पसलसम्म विहानको समयमा जाने गरेको छु । यसवीचमा खेतबारीको काम, करेसाबारी निर्माण गरेको छु । त्यो करेसावारी राम्रो भयो भने सामाजिक सञ्जालमार्फत नै यहाँहरुलाई देखाउनेछु, लकडाउनको उपलब्धीको रुपमा । घरको सरसफाईका काममा समय वितिरहेको छ । यसबाहेक आफूले काम गर्ने सञ्चारमाध्यमहरुमा रिपोटिङ गर्ने काम पनि सँगै अघि बढिरहेको छ । सञ्चारमाध्यमबाट साथीभाइसँग नियमित कुराकानी गर्छु । यो वीचमा सञ्चारकर्मी साथीसँग पनि मेरो प्रत्यक्ष भेटघाट भएको छैन ।

लकडाउनपछि दुई पटक बट्टारसम्म गएको छु । त्यो पनि एक पटक विरामी लिएर अर्को पटक दैनिक उपभोग्य सामान खरिदको लागि । यो अवस्थामा भेटघाटलाई आवश्यकता पनि ठानेको छैन । घरमै बसेपनि जिल्लामा आफूले गर्न सक्ने खालका कुराहरुमा समन्वयको काम गरिरहेको छु । संवाद समूहमा सहजकर्ताको भूमिकासमेत निर्वाह गर्दै आएकाले समस्या परेका नागरिक र सरकारवीच समन्वय गर्न सक्ने खालका विषयहरुमा चासो राखेर तीनलाई समाधान गर्न कोशिस भइरहेको छ ।

विश्वको शक्तिशाली राष्ट्रवीचमा नेपालको पूर्व तयारी र सचेतनाले विश्व जगतलाई चकित पारिदिएको छ ।

कोभिड–१९ को संक्रमणको कारण विकसित देशले ठूलो नोक्सानी व्यहोर्न बाध्य भइरहेका छन् । यो रोगको सामू युरोप अमेरिकालगायतका सम्पन्न देशले समेत हार खाइसकेका छन् । यस्तो अवस्थामा नेपालमा यसको संक्रमण फैलियो भने के होला ? हाम्रो कल्पना भन्दा बाहिरको कुरा हो । तर, लकडाउनको तेस्रो हप्ता सकिँनै लाग्दा हामी डराउनुपर्ने अवस्थामा छैनौँ । सम्भवतः अव संक्रमण फैलिँदैन भनेर विश्वास लिऔँ । तर, यसो भन्दैमा हाम्रा तयारी र पूर्व सावधानी अपनाउन हेलचक्र्याई गर्‍यौँ भने हामी यसबाट बच्न सक्दैनौँ । त्यसैले सावधानी अपनाउनुपर्छ । नेपाल सरकारले जुन रुपमा लकडाउन गर्‍यो, अहिले संक्रमणको अवस्था हेर्दा उचित र ठीक समयमा गरेको रहेछ, यसको लागि सरकारलाई धन्यवाद दिन चाहन्छु । लकडाउन गर्न केही दिन ढिला मात्रै भइदिएको भए, सायद नेपालमा संक्रमण नियन्त्रण बाहिर गइसकेको पनि हुन सक्थ्यो । यो डायरी लेख्दासम्मको अवस्थालाई हेर्ने हो भने हामी नेपाली भाग्यमानी छौँ । विश्वको शक्तिशाली राष्ट्रवीचमा नेपालको पूर्व तयारी र सचेतनाले विश्व जगतलाई चकित पारिदिएको छ ।

हाम्रो देशमा स्रोत साधन र आधुनिक उपकरणको अभाव रहेको छ । कोरोनाका कारण स्वास्थ्य सेवा र उपकरणलाई प्रभावकारी बनाउनुपर्छ भन्ने चेतना राज्य सञ्चालनको जिम्मेवारीमा बसेकाहरुलाई आएको छ भन्ने मेरो बुझाई छ । अवका दिनमा नेपालको स्वास्थ्य सेवा प्रभावकारी बनाउन राज्यको लगानी बढ्नेछ, भन्ने विश्वास मेरो रहेको छ ।

स्थानीय सरकारको कुरा गर्नुपर्दा स्थानीय सरकारले आफ्ना स्रोत र साधनले भ्याएसम्म गरेका तयारीहरु सन्तोषजनक रहेका छन् । गाउँगाउँमा क्वारेनटाइन बनेका छन् । विपद्का बेला कसरी आफ्ना नागरिकलाई जोगाउन सकिन्छ भनेर सामूहिक छलफल र योजना पनि बन्ने क्रममा होलान् ।

नागरिक समाज र सञ्चारकर्मीको भूमिका भनेको सही सुचना प्रवाह गर्ने र नागरिकलाई सचेतना जगाउने नै हो । देशको संवेदनशील अवस्थामा हामीले दिने सही सुचना नै हो, सही सुचना भएन भने यो समयमा ठूलो संकट र नागरिकमा द्वन्द्व उत्पन्न हुन सक्छ । यो भूमिकामा नेपालका सञ्चारकर्मीहरुले भूमिका खेलेका छन् । यतिमात्र होइन, टेलिभिजनहरुले सामाजिक उत्तरदायित्व अन्र्तगत लकडाउनका कारण दैनिक गुजारा गर्न नसकेकाहरुलाई गुजाराको व्यवस्थासमेत मिलाई दिएका छन् । हामी सञ्चारकर्मीहरुको मुख्य दायित्व नै यही हो भन्ने मलाई लाग्छ । हामीले नागरिक र सरकारवीच पुलको काम गर्ने हो जुन पुलको काम पनि यो समयमा प्रभावकारी रुपमा सञ्चालन भएको छ भन्ने मेरो बुझाई हो ।

सबै नागरिकले राज्यले प्रदान गरेका सेवा सुविधा कसरी प्राप्त गर्न सकिन्छ भनेर थाहा नहुन सक्छ, थाहा पाउनेले सुविधा लिन सहयोग गर्नु हामी सञ्चारकर्मीको पहिलो दायित्व हो भने अरु सामाजिक अगुवाले पनि गरिव, असहाय, बिपन्न र मजदुरलाई सहयोग गर्नुपर्छ ।

अहिले धेरै मानिसहरु आ-आफ्नो जिल्ला जानको लागि रागमार्गमा भीड लागेको छ । यस्तो बेलामा आफ्नो घर परिवारसँग बस्न सबैलाई रहर हुन्छ नै । त्यसबाहेक कतिपय ज्याला मजदुरी गर्ने नागरिकहरु त दैनिक खानपानको समेत समस्या भएको छ । हुन त संघीय सरकारले मजदुरको लागि खाद्यान्न दिने घोषणा गरेको छ । स्थानीय सरकारले सबै मजदुरलाई खाद्यान्न दिन नसकिने खालका अभिव्यक्ति दिइरहेका छन् । तीनै तहको सरकारवीच यो विषयमा समन्वय हुनुु जरुरी छ । त्यही कारणले पनि राजमार्गमा नागरिकको भीड लागेको हो । भोक भन्दा ठूलो संसारमा अरु केही हुन सक्दैन । सबै नागरिकले राज्यले प्रदान गरेका सेवा सुविधा कसरी प्राप्त गर्न सकिन्छ भनेर थाहा नहुन सक्छ, थाहा पाउनेले सुविधा लिन सहयोग गर्नु हामी सञ्चारकर्मीको पहिलो दायित्व हो भने अरु सामाजिक अगुवाले पनि गरिव, असहाय, बिपन्न र मजदुरलाई सहयोग गर्नुपर्छ । स्थानीय सरकारसँग स्रोतको अभाव भएमा प्रदेश सरकार र संघीय सरकारसँग माग्नु परेपनि माग्नुपर्छ । त्यसैले लकडाउन लामो समयसम्म भयो भने कसरी अघि बढ्न सकिन्छ भनेर रणनिति बनाउनु पनि उत्तिकै आवश्यकता छ । उनीहरुको व्यवस्थापन तीनै तहको सरकारको समन्वयमा हुनु जरुरी छ ।

अहिले धेरै नागरिकहरु गाउँ फर्किएका छन्, यस्तो अवस्थामा स्थानीयलाई कसरी रोजगार दिन सकिन्छ भन्ने बारेमा पनि योजना बनाउनु आवश्यक छ । किनभने कृषिमा कसरी आत्मनिर्भर बनाउन सकिन्छ अनि स्थानीय स्तरमा कसरी रोजगार दिन सकिन्छ भनेर योजनासहित अघि बढ्न सकियो भने कोरोनाको त्रासले हामीलाई एउटा ठूलो र महत्वपूर्ण अवसर पनि दिनेछ भन्ने मलाई लाग्छ । अर्को कुरा अहिले ठूलो जनशक्ति गाउँमा छ । विकास निर्माणका आयोजनाहरु ठप्प रहेका छन् । यस्तो बेलामा सुरक्षाका उपायहरु अवलम्वन गर्दै आयोजनाका काम स्थानीय श्रमबाटै गराउन सकियो भने गाउँमै ठूलो आर्थिक उपलब्धी हुनेछ, विकास निर्माणको काम पनि समयमै सकिने छ । यसतर्फ पनि स्थानीय प्रशासन र स्थानीय सरकारले योजना बनाउनु बुद्धिमानी हुनेछ । जिल्लामा धेरै यस्ता आयोजनाहरु सञ्चालनमा रहेका छन् । गाउँमा आएका हजारौँ युवा बेरोजगार छन् । यो जनशक्तिलाई हामीले विकास निर्माणमा सुरक्षाका विधि अपनाउँदै लगाउने मौका आएको छ । यसतर्फ हामी सबैको ध्यान केन्द्रीत हुनु आवश्यक छ ।

-पौडेलसँग कुराकानीमा आधारित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top