२०७७, ७ आश्विन बुधबार

कोरोना त्रास, खाद्य संकटमा कृषि कार्ययोजना

डबली खबर     बैशाख १० २०७७ १८:१९



kapil kc corona affect food crisis and agriculture nuwakot nepal

१७ नोभेम्बर २०१९ मा चीनको बुहान सहरमा देखिएको (साउथ मर्नीङ चाइना पोस्ट अनुसार ) कोरोना भाइरसको संक्रमणले यति ठुलो रुप लेला भन्ने सायदैले सोचेका थिए । अप्रिल २२ सम्मको तथ्यांकअनुसार कोरोना भाइरसको संक्रमण बिश्वका २१० देशहरूमा फैलिसकेको छ। २५ लाख ७६ हजार १३७ जना यो भाइरसबाट संक्रमित भइसकेका छन् भने १ लाख ७८ हजार ६७७ जनाले यहि भाइरसका कारण ज्यान गुमाइ सकेका छन् । ७ लाख ४ हजार १८४ जना उपचार पश्चात निको भएका छन् भने ५७ हजार २१४ को अवस्था अझै गम्भीर छ। कुल संक्रमितको ९७% अथार्त १६ लाख ३६ हजार ५६४ जना अझै उपचाररत छन् । अमेरिकामा मात्र संक्रमितको संख्या ८ लाख १९ हजार १७५ पुगेको छ भने ४५ हजार ३४३ जनाले ज्यान गुमाइसकेका छन् । अमेरिका पछि युरोपेली देशहरू इटालि, स्पेन, फ्रान्स र बेलायतमा कोरोनाका कारण ठुलो मानवीय क्षति भएको छ। एसियालि मुलुकबाट फैलिएको भए पनि यो आलेख तयार पार्दा सम्म अमेरिका र युरोपेली मुलुकको तुलनामा एशियाली देशहरूमा संक्रमित र मानवीय क्षति कम छ। चीन, ईरान, दक्षिण कोरियामा कोरोनाको प्रभाव बढी देखिएको छ भने पछिल्लो समयमा छिमेकी मुलुक भारतमा पनि यसको प्रभाव बढदो छ। हाल सम्म भारतमा २० हजार १७८ जनामा कोरोना संक्रमण देखिएको छ भने ६४५ जनाले ज्यान गुमाइ सकेका छन् । नेपालमा हाल सम्म ४८ जनामा संक्रमण देखिएको छ भने हाल सम्म कसैले पनि यो भाइरसका कारण ज्यान गुमाउनु परेको छैन।तर खुल्ला सिमा र प्रयाप्त परिक्षण नभएको हुँदा संक्रमित बढ्ने आँकलन गरिएको छ।

छिमेकी देश चीनमा देखा परि फैलिएको कोरोना भाइरसबाट हाम्रो देश नेपाल पनि अछुतो छैन । हाल सम्म ४८ जनामा यो भाइरसको संक्रमण पुष्ठि भैसकेको छ। संंक्रमित बढदै जाँदा त्रास पनि बढदै छ। प्रायः बिदेशबाट आएकाहरुमा संक्रमण देखिएको छ। ७ जना उपचार पछि निको भएर फर्किएका छन् । चैत १० बाट घोषणा गरिएको लकडाउन बैशाख १५ सम्म लम्ब्याइएको छ । नेपालमा संक्रमितको सङ्ख्या र छिमेकी मुलुक भारतको अवस्थालाई हेरि लकडाउन खुल्ने र लम्बिने हुनसक्छ। बढ्दै गएको संक्रमितको सङ्ख्यालाई मध्यनजर गर्दै नेपाल सरकारले भारत तिरको खुला सिमानामा कडाइ गरेको छ। खुला सिमाना कै कारण नेपालमा कोरोनाको चुनौती बढ्दो छ। ४८ संक्रमित मध्य १६ जना भारतीय नागरिक रहेको प्रमाणित भएको छ। संक्रमण नियन्त्रणका लागि लकडाउन प्रभावकारि बनाउन सरकारले जनचेतना जगाउने र सुरक्षाकर्मी परिचालन गर्ने कार्यलाई तीव्रता दिएको छ।

कोरोना भाइरसको उपचारको लागि बिश्वमा कुनै पनि भ्याक्सिन उपलब्ध छैन । तसर्थ यसको संक्रमणबाट जोगिनु नै पहिलो प्राथमिकता भएको हुँदा शारीरिक दुरि कायम गर्नु, साबुनपानीले राम्रोसंंग हात धुनु, माक्स र स्यानीटाइजर प्रयोग गर्नु, स्वस्थ खाना खानु, प्रसस्त पानी पिउनु, नियमीत शारीरिक ब्यायाम गर्नु नै कोरोना भाइरसबाट बच्ने उपाय हुन भने लक्षण देखा परे स्वास्थकर्मीको सल्लाह अनुसार उपचार गर्नुपर्ने हुन्छ।

कोरोनाभाइरसको महामारी जस्तै बिश्वमा अन्य भाइरसले पनि विभिन्न समयमा बिश्व समुदाय माथी चुनौती नथपेको होइन । तर आजको आधुनिक विश्व र विज्ञानको युगमा देखापरेको यो महामारीले विश्व समुदाय माथी थप चुनौती थुपारेको छ। यसले प्राकृतिक चुनौतीमाथि विश्वको आज सम्मको प्रयासलाई निरर्थक र अपुग सावित गरिदिएको छ। आधुनिक विश्व र चलायमान समाज अनि त्यो समाजको सार्वजनिक स्वास्थ प्रणाली निकम्मा जस्तै साबित हुनु कम चुनौतीपूर्ण पक्कै होइन । यसले भविष्यमा आइपर्ने प्राकृतिक र जैविक महामारी, विश्व समुदायमा पर्ने त्यसको असर, विश्वको सार्वजनिक स्वास्थ्य प्रणाली अनि वित्तीय र खाद्य चुनौतीको पर्खाल खडा गरिदिएको छ।

बिश्वमा कुनै पनि बेला प्राकृतिक महामारीले ठुलो रुप ग्रहण गर्न सक्ने । त्यसका लागि हाल सम्मको प्रयास अपुग रहेको हुँदा विश्वब्यापी रूपमा अझ प्रयास र तयारी गर्नु पर्ने देखिन्छ । र सार्वजनिक स्वास्थ र साबधानीका कमि कमजोरि औंल्याउदै त्यस प्रति सजग रहनु पर्ने सन्देश पनि कोरोना महामारीले बिश्व समुदायलाई दिएको छ।

विकसित राष्ट्र नै यो महामारीको चपेटामा परेको हुँदा आफ्नै अर्थ ब्यवस्था उकास्न ठुलो धनराशी खर्च गर्नुपर्ने हुँदा त्यसको अप्रत्यक्ष असर विकासशिल राष्ट्रमा पर्ने देखिन्छ ।

चीन-अमेरिका ब्यापार युद्धबाट आंशिक त्रसित बिश्व अर्थतन्त्रलाई कोरोना भाइरसले गर्लम्म ढालेको छ। यो भाइरसले महामारीको रुप लिने संकेत गर्दै विश्व स्वास्थ संगठन (WHO) ले फेब्रुअरी ११ मा विश्व स्वास्थ संकटकाल घोषणा गर्यो भने अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) कि प्रबन्ध निर्देशक क्रिस्टिलिना जर्जियावाले मार्च २७ मा विश्वव्यापी आर्थिक मन्दीको घोषणा गरिन । द्रुत गतिमा फैलीरहेको यो भाइरसकै कारण बिश्वका अधिकांश मुलुक लकडाउनमा छ भने बिश्वका आर्थिक गतिविधि ठप्प प्रायः छन। उद्योग, पर्यटन, व्यापार, सेवा, कृषि, वित्त, मनोरञ्जन, खेलकुद र हवाईसेवा लगायत सम्पूर्ण व्यवसाय लकडाउनले थलिएका छन् । गत बर्षको तुलनामा विश्वको जिडिपि ३% ले खुम्चने र एशियाली अर्थतन्त्र ४० बर्ष यताकै कम हुन सक्ने कुरा आइएमएफले औंल्याएको छ। विकसित राष्ट्र नै यो महामारीको चपेटामा परेको हुँदा आफ्नै अर्थ ब्यवस्था उकास्न ठुलो धनराशी खर्च गर्नुपर्ने हुँदा त्यसको अप्रत्यक्ष असर विकासशिल राष्ट्रमा पर्ने देखिन्छ । कोरोनाको महामारीले गर्दा विश्वमा १९५ मिलियन व्यक्तिले आफ्नो रोजगारी गुमाउने कुरा आइएलओका (ILO) निर्देशक गाइ राइडरले उल्लेख गरेका छ्न । यसले विकासशिल राष्ट्रलाई नराम्ररी गाँँज्ने देखिन्छ । विकासशिल राष्ट्रमा बस्ने ६ अर्ब जनताको अवस्था उकास्न २.५ ट्रिलियन डलरको आवश्यकता संयुक्त रास्ट्र संघले औंल्याएको छ । यो महामारीको प्रभाव लामो समयसम्म रहे विश्व अर्थतन्त्र झन तहसनहस हुने पक्का छ । हाम्रो जस्तो परनिर्भर अर्थतन्त्र भएको मुलुकको जग यो महामारीले कमजोर बनाउने निश्चित छ । भुकम्प र त्यसपछिको अघोषित भारतिय नाकाबन्दीले थलिएको नेपाली अर्थतन्त्रलाई कोरोना महामारी तगारो बनेर तेर्सीएको छ। कोरोनाका कारण कुल ग्राहस्थ उत्पादन (जिडिपि) को ३२% अथार्त ११ खर्ब १४ अर्ब ८१ करोड ॠणमा डुबेको हाम्रो मुलुक झन ॠणमा डुब्दै जानेछ।

कोरोना संक्रमणले आउँदो दुई बर्षमा विश्वको कुल ग्राहस्थको नौ खर्ब डलर नष्ट गर्ने र २०२२ अघि विकशित देशहरू पहिलेकै अवस्थामा पुग्नसक्ने पनि अन्तर्राष्ट्रिय मुद्रा कोषले औंल्याएको छ।

वैदेशिक रोजगारीको ठुलो हिस्सा गुमे सँगै रेमिट्यान्समा संकुचन आउने छ। वार्षिक ८ खर्ब ७९ अर्ब रेमिट्यान्स भित्र्याउने मुलुकको आर्थिक मन्दीसँगै वार्षिक १ खर्ब भन्दा बढी रेमिट्यान्स घटने देखिन्छ । विश्व बजारमा तेलको मुल्य घटने क्रम जारी रहने र कोरोना संक्रमण लामो समयसम्म रहिरहने हो भने तेल उत्पादक राष्ट्रहरुसँग जोडिएको हाम्रो रेमिट्यान्सको सम्बन्धमा झन दरार देखापर्न जान्छ। वैदेशिक रोजगारीमा रहेका ४५ लाख नेपाली मध्ये अधिकांश नेपालीको भविष्य तिनै राष्ट्रसँग जोडिएको छ । जसको कारण बैंकहरुमा तरलता देखापर्छ भने सामाजिक समस्या पनि पैदा हुने गर्छ। आर्थिक वृद्धि दर खुम्चिदा यसले हाल निरपेक्ष रूपमा रहेको १८.७% र बहुआयामिक रूपमा रहेको २८.६% गरिबी १०% मा झार्ने सरकारी लक्ष्यमा नराम्रो प्रभाव पार्ने देखिन्छ । हाम्रो देशको ८०% आर्थिक क्रियाकलाप छिमेकी देश भारत र चीनसँग हुने हुँदा ती देशहरुमा समेत कोरोनाको असर बढी देखिँदा त्यसको सिधा असर हाम्रो अर्थतन्त्रमा पर्न जान्छ। रेमिट्यान्स र ॠणमा अडिएको अर्थतन्त्र, पुरातन कृषि प्रणाली, ठुलो अन्तरको व्यापार घाटा, सिमित वैदेशिक लगानी, रुग्ण उद्योग, कमजोर प्रशासनिक संयन्त्र र बढ्दो भ्रष्टाचार रहेको हाम्रो देशको अर्थतन्त्रमा कोरोनाको प्रभाव लामो समयसम्म नरहला भन्न सकिन्न । यसरी विश्वव्यापी आर्थिक मन्दीले विश्वको आर्थिक संरचनामा नै हलचल पैदा गर्ने निश्चित छ। यसले आयातित संकारमा आश्रित विश्व समुदायमा खाद्य सुरक्षाको संकट देखा पर्न सक्ने चेतावनी पनि विश्व खाद्य संगठनले दिएको छ। कोरोना संक्रमणले आउँदो दुई बर्षमा विश्वको कुल ग्राहस्थको नौ खर्ब डलर नष्ट गर्ने र २०२२ अघि विकशित देशहरू पहिलेकै अवस्थामा पुग्नसक्ने पनि अन्तर्राष्ट्रिय मुद्रा कोषले औंल्याएको छ। तसर्थ विश्व अर्थतन्त्रमा कोरोनाको महामारीले ठुलो असर पार्ने देखिन्छ ।

भविष्यमा कतै मानव जाती नै पृथ्वीबाट लोप हुने अवस्था त आउने होइन भन्ने आशंका पनि यो महामारीले पैदा गरिदिएको छ।

कोरोना महामारीले गर्दा अर्थतन्त्रमा मात्र होइन मानव सभ्यता र संस्कृतिमा पनि ठुलो प्रभाव पारेको छ। विश्वमा मानव जातीको सभ्यता र संस्कृतीको इतिहास लामो छ। विभिन्न जाती र धर्म संग मात्र होइन भोगोलको आधार पनि मानव सभ्यता र संस्कृतीको प्रगाढ सम्बन्ध छ। महामारीले गर्दा ती क्रियाकलापहरु ठप्प प्रायः छन् । नेपालको परिप्रेक्षमा पनि हाम्रो समाजमा विद्यमान थुप्रै चाडपर्ब र धार्मिक क्रियाकलापमा यसले असर पारेको छ। साथै मानव जातीको भविष्य कति सुरक्षित छ त? भन्ने प्रश्न पनि यो कोरोना महामारीले खडा गरिदिएको छ। भविष्यमा कतै मानव जाती नै पृथ्वीबाट लोप हुने अवस्था त आउने होइन भन्ने आशंका पनि यो महामारीले पैदा गरिदिएको छ। तसर्थ भविष्यमा देखा पर्न सक्ने प्राकृतिक विपत्तिको चुनौतीलाई पनि यो महामारीले छर्लङ्गग्याएको छ। साथै कोरोना र यी जस्ता अन्य प्रकोपका कारण जातीय , क्षेत्रीय र धार्मिक हिंंसा भड्कन सक्ने तर्फ पनि केही घटनाले सचेत गराएको छ । उदाहरणको लागि अमेरिका र बेलायतमा एशियाली मुलका ब्यक्ति र तिनको संपत्ती माथीको हमलालाई लिन सकिन्छ । सबैभन्दा महत्त्वपूर्ण चुनौती चाहिँ मानव स्वास्थ माथी देखा परेको छ। त्यसमा पनि सामुदायिक स्वास्थ प्रणालीको आवश्यकतालाई यो महामारीले इंगित गरेको छ। विश्वब्यापी रूपमा स्वास्थ्य सेवामा खर्च हुने ३.५५ ट्रिलियन डलरमा ५ बिलियन डलर ठगी र भ्रष्टाचार हुने गरेको विभिन्न तथ्यांकले देखाउँछ। यो रोक्नु अर्को चुनौती हो। जसले स्वास्थ क्षेत्रको गुणस्तरलाई कमजोर बनाउन मद्दत गर्छ।

विभिन्न समयमा देखिने खाद्य संकट लगायत महामारीमा पनि कृषि उपजले ठुलो टेवा दिन्छ।

नेपालको सन्दर्भमा अहिलेको संकटबाट पार पाउन नेतृत्वको दृढ इच्छा शक्ति, प्रशासनिक चुस्तता, प्रभावकारी कार्ययोजना र त्यसको कार्यन्यन महत्त्वपूर्ण पाटो हो । त्यसमा पनि सामुदायिक स्वास्थ र कृषि कार्ययोजनालाई विशेष महत्त्व दिनु पर्ने देखिन्छ । कृषिप्रधान देश भएतापनि नेपालले वार्षिक १ खर्ब ९५ अर्ब जतिको कृषिजन्य वस्तु आयात गर्ने गर्छ। कृषिलाई प्राथमिकतामा राखेर विभिन्न कार्ययोजनाहरु ल्याउन सकिन्छ । जसमा राज्यको लगानी, यान्त्रिकिकरण, तालिम, ऋण, बजारीकरण र नाफाको सुनिश्चितता प्रमुख हुन् । यसबाट व्यापार घाटा त कम गर्न सकिन्छ नै ठुलो बेरोजगारी समस्यालाइ पनि सम्बोधन गर्न सकिन्छ । र अर्को महत्त्वपूर्ण कुरा विभिन्न समयमा देखिने खाद्य संकट लगायत महामारीमा पनि कृषि उपजले ठुलो टेवा दिन्छ। उदाहरणको लागि ९० को दशकमा सोभियत संघमा देखापरेको राजनीतिक परिवर्तनसँगै त्यहाँँ आर्थिक मन्दी देखा परेको थियो । समाजवादी अर्थ व्वयस्थाबाट पूंजीवादी अर्थ व्वयस्थामा प्रवेश गर्दा देखिएको डामाडोल अवस्थालाई मजबुत कृषि प्रणालीकै कारण रुसले बेलैमा नियन्त्रणमा लिन सक्यो। त्यसैले त औद्योगिक राष्ट्र भएर पनि चीन र अमेरिका कृषिमा पनि मजबुत छन् भने इजरायल जस्तो देशले पनि कृषिलाई विशेष महत्त्व दिएको छ। कृषि तथा पशुपंछी विकास मन्त्री घनश्याम भुसालले चैत २४ मा सबै ७४४ स्थानिय तहलाई पत्र लेखी खाद्यान्न अभाव र भोकमरि निम्तनेतर्फ सचेत गराउनु र संयुक्त राष्ट्र संघले पनि भोकमरिको अवस्था आउन सक्ने चेतावनी दिनुले पनिले पनि कृषिको प्राथमिकतालाई विशेष जोड दिनुपर्ने देखिन्छ । त्यसैले यी र यस्ता विभिन्न समस्या र चुनौतीहरुबाट पाठ सिक्दै भबिस्यको सुनौलो रेखा कोर्न दृढ संकल्पका साथ हालेमालो गर्नु नै आजको टट्कारो आवश्यकता हो । तसर्थ अब हामीले चाल्ने पाइलाले नै हाम्रो भविष्य निर्धारण गर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top